सिन्धुपाल्चोकको जुगल हिमालमा आरोहण अनुमती, पर्यटनको क्षेत्रमा नयाँ रुट कायम हुने, पर्यटन ब्यबसायिहरु उत्साहित

सिन्धुपाल्चोकको जुगल हिमालमा आरोहण अनुमती, पर्यटनको क्षेत्रमा नयाँ रुट कायम हुने, पर्यटन ब्यबसायिहरु उत्साहित

0
529

सिन्धुपाल्चोकको जुगल हिमालमा आरोहण अनुमती, पर्यटनको क्षेत्रमा नयाँ रुट कायम हुने, पर्यटन ब्यबसायिहरु उत्साहित

दिनेश थापा, १४ चैत, सिन्धुपाल्चोक ।

‘भर्जिन’ हिमालको उपमा पाएको सिन्धुपाल्चोकको जुगल हिमालमा आरोहण अनुमतीपछि त्यसको प्रचार-प्रसारका लागि मन्त्रीसहितको टोलीले आरोहण गर्ने तयारी गरेको छ ।

सिन्धुपाल्चोकलाई पर्यटकीय जिल्लाको रुपमा परिचित गराउने उद्देश्यले जुगल हिमालको औपचारीक आरोहण गराउने तयारी गरिएको हो ।

आरोहणको सुरुवात जिल्लाबासीबाटै हुने छ । सगरमाथा चढिसकेका प्रदेश ३ का मन्त्री युवराज दुलाल, माओवादी केन्द्रका नेता माधव सापकोटा, सरल सहयात्री पूर्वसासंद सुभाष कर्माचार्य, सगरमाथा आरोही माया गुरुङ सहितको टोलीले पहिलो आरोहणको तयारी गरेृको पर्यटन व्यावसायी मिलन लामाले जानकारी दिए ।

‘जो पहिला चढ्छ त्यसैले नै हिमालको नाम राख्न पाउने भएकाले पनि पहिलो पटक जिल्लाबासीले नै आरोहणको तयारी गरेका छन्,’ उनले भने ।

यसअघि माओवादी नेता सरल सहयात्री, युवराज दुलाल र माया गुरुङले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमाल रेन्ज भित्रको दोर्जे लाक्पा, फुर्बा घिप्चे लगायतका हिमालमा आरोहण हुने छ । दोर्जे लाक्पाको उचाइ ६ हजार ९ सय ६६ मिटर छ । जुगल हिमालमा पर्वतारोहीका लागि आरोहण अनुमती दिइएको थिएन । केही समयअघि मात्रै जुगल हिमालमा आरोहण अनुमती दिएपछि जिल्लाबासीकै सक्रियतामा आरोहणको तयारी गरिएको माओवादी नेता माधव सापकोटाले जानकारी दिए ।

जुगल हिमालको बेस क्याम्प बुम्बासेर्पुङयांखर्कसम्म पुग्ने बाटो निर्माण गर्नका लागि समय लाग्ने छ । ‘बेस क्याम्पसम्म पुग्ने बाटो निर्माण भएपछि अन्य हिमालभन्दा यो हिमाल आरोहणका लागि सजिलो छ,’ पर्यटन व्यावसायी लामाले भने ।

बेस क्याम्पसम्म पुग्ने बाटो निर्माणका लागि ५ लाख बढी लाग्ने अनुमान गरिएको छ । त्यसका लागि स्रोत जुटाउन पहल भइरहेको लामाले बताए ।

पहिलो आरोहण २०७५ असोज १६ देखि २७ गतेसम्म गर्ने पर्यटन व्यावसायीहरुले तयारी गरेका छन् । त्यसअघि बैशाख पहिलो साता गन्तव्यको रुट तय गर्न एक टोली जुगल हिमालको बेस क्याम्पसम्म पुग्ने यस क्षेत्रका पूर्व सांसद सुभाष कर्माचार्यले जानकारी दिए ।

आरोहणका लागि ५० लाख बढी लाग्ने

यस क्षेत्रको विकासको लागि जुगल हिमालको आरोहणपछि पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य हुने कर्माचार्यले बताए ।

जिल्लाबासीबाटै आरोहण गरेपछि जुगल हिमाललाई अन्तर्राष्ट्रिय स्तरको नयाँ पर्यटकीय रुटका रुपमा परिचत गराउन पर्यटन बोर्ड लाग्ने पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लिलाबहादुर बानियाँले जानकारी दिए ।

‘भर्जिन’ जुगल हिमाल आरोहणका लागि ५० लाख बढी रुपियाँ लाग्ने अनुमान गरिएको छ । बैशाखको १२ देखि २५ गतेसम्म स्थानीयबासीसहित प्राविधिक अध्ययन टोली बेस क्याम्प पुग्ने छ । प्राविधिक टोलीका लागि १५ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यस्तै आरोहणका लागि २३ लाखसम्म लाग्ने पर्यटन व्यावसायी लामाले बताए ।

पर्यटनको क्षेत्रमा नयाँ रुट कायम हुने

जुगल हिमाल आरोहण खुला भएपछि सिन्धुपाल्चोकमा नयाँ पर्यटकीय रुट खुल्ने पर्यटन व्यावसायीहरुले बताएका छन् । जुगल हिमालसहित यस क्षेत्रमा पर्ने ने-पेमासाल पर्यटकहरुको लागि नयाँ गन्तव्य हो । वरिपरी हिमालले ढाकेको सुन्दर ठूलो चौर ने-पेमासाल हो । यो चौरमा बौद्ध गुरुहरु आएर ध्यान बसेको किम्बदन्ती छ ।

ने-पेमासालबाट जुगल हिमालको बेस क्याम्पसम्म पुग्न एक दिन लाग्ने छ । यस क्षेत्रमा दुई-तीन पटक पुगेसकेको बताउने पूर्वसासंद सुभाष कर्माचार्य भन्छन्, ‘संसारकै उत्कृष्ट ठाउँभन्दा प्राकृतिक सौन्दर्यका हिसाबले ने-पेमासाल कुनै कम छैन ।’
बौद्ध धर्मग्रन्थमा संसारका १० उत्कृष्ट भूमिमध्ये ने-पेमासाल पहिलो नम्बरमा नै रहेको उनको भनाइ छ ।

जुगल हिमाल आरोहण खुला भएसँगै पर्यटन व्यावसायीहरुले रसुवाको सीमामा पर्ने गन्जलापास नाका खोल्ने तयारी गरेका छन् । गन्जलापास हुदै पाँचपोखरीबाट जुगल हिमालसम्म पुग्ने एउटा पर्यटकीय रुट हुन सक्ने पर्यटन व्यावसायीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here