साहित्यकार बिना थिङ तामाङको घण्टी फूल (स्याङ्म्हेन्दो)

साहित्यकार बिना थिङ तामाङको घण्टी फूल (स्याङ्म्हेन्दो)

0
1113

बिना थिङ तामाङ

आजभोली
तिम्रो याम्बुमा
सोध्नेहरु सोध्छन्
तँ कत्ति चिसो ?
चिसो मान्छेको मुटु पनि चिसै होला
के तेरो गाउँतिर आगो बल्दैन ?

उतिबेला सिम्बली लेकको
चिसो बतास
याबेङ खोलाको
चिसो पानी
दौडिएपनि शरीरभरि
भएन यो शरीर यत्ति चिसो
जुकाले चुसेका यी खुट्टाहरुबाट पनि
बगेकै थियो तातो रगत
प्रधानपञ्चको मेलामा
भरिएको थुन्चेसंगै खोँचमा खस्दा
बगेकै थियो
तातो रगत टाउकोबाट
हो सरकार, म स्याङम्हेन्दो
तातै थिएँ

तातो रगत बोकेर
शरीरभरि
तातो विचार बोकेर
मष्तिस्कभरि
मैले छोडेकी थिएँ पढ्न
ती चिसा अक्षरहरु
किनकी ती चिसा अक्षरहरु मैले
नबुझ्ने भाषामा थिए
अनि पढाउनेहरुको आँखा
बल्ढ्याङ्ग्रो थियो

कुनै दिन
पुरेहित बाजेको नातीसंग
खेल्दाखेल्दै
अनायसै पुग्दा चुल्होमा
आँगनमा हुत्याईएँ म
र लगाईयो बात
—यो भोटिनी हो
यसले छुनुहुन्न हाम्रो भातभान्छा

सरकार,
म त स्याङम्हेन्दो पो थिएँ त
स्याङम्हेन्दो तामाङ

खै किन भोटिनी भनेर
गलहत्याए ?
त्यहि बुझ्न नसकेर
इतिहासको पन्ना पल्टाउँदा
तातो भएकी थिएँ
रातो भएकी थिएं

म स्याङम्हेन्दो तात्तिएं
म तातिएपछि
चिसो भयो
तिम्रो मुटु
र त्यो चिसो मुटुले
ओछ्यायौ बारुद
पड्कायौ बन्दुक

आफू विरुद्धको हदबन्दी तोड्न
हिडेका यो मुटु अझै ताातिदैँ गयो
यसको बाफिलो श्वासले
ढाक्यो तिम्रो वायुमण्डल
र निश्वासियौ तिमी याम्बुमा

तिमी आत्तियौ
आत्तिएपछि
मिलाएयौ हातहरु
र भन्यौ
—स्याङम्हेन्दोहरु
जरुर लेखिनेछ
लुकाईएका तिम्रा इतिहासहरु
कोरिनेछ सुनौला अक्षरहरुमा
बहादुरीहरु
त्यस दिन तिम्रो जित हुनेछ

नभन्दै लेख्यौ पाठ्यक्रम एकदिन
र पढें मैले अर्को दिन

तर त्यहाँ देखिएन रिन्जेन दोर्जेको
तिमाल
भेटिएन भिमबहादुरको अस्तु
लेखिएन
महारानी, दिलकुमारीको कथा
पिपा हजुबाको व्यथा
याबेङमा काटिएको उर्गेनको टाउको
तिलस्मी अक्षहरुको गुजुल्टोले ति
सब छोपिएछ

खै मेरो आदिमभूमिमाथिको अधिकार ?
खै मेरा सन्तानले पढ्न सक्ने
भाषिक पुस्तक ?
खै म्हेन्दोमाया खोज्दा
निकालिएका मेरा म्हेमेका आँखाहरु ?
खै दरबारको पर्खाल लाउँदा
भाँचिएका हजुरबाका हातहरु ?
खै भिमफेदीमा तिमी चढ्ने मोटर
बोक्दा बोक्दा
खिईएका पुर्खाका काँधहरु ? भिमफेदीबाट काठमाडौंमा गाडी ल्याउँदै तामाङहरु
तिनीहरुको छातीबाट
बगेको रगतको इतिहास मेटाएर
लेखिएको पाठ्क्रमले
यो स्याङम्हेन्दोको मुटु चिसो भएको छ

त्यसैले कहिल्यै
नचिसिएको यो मुटु बोकेर
यो स्याङम्हेन्दो
आजैबाट
स्याङ ( घण्टी ) र म्हेन्दो ( फूल )
अलग पार्दैछे
म्हेन्दोको कोमलताबाट
छुटेपछि स्याङ
बज्नेछ एकहोरो टिङ टिङ
विद्रोहको
आव्हान गर्नेछ
—म्हेन्दोमायाहरु,
खोज्न अधिकार
निस्क
घर घरबाट
चिसो मुटु बोकेर

तिमीलाई थाहै छ नि
चिसो मुटुले
बोक्छ बन्दुक
पड्काउँछ बारुद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here