गजबको यो डिभाईस, जसले मोबाइल तात्नबाट जोगाउँछ

0
344

कार्तिक १०, २०७४-मोबाइल, ट्याबलेट र ल्यापटपलगायतमा देखिने विभिन्न समस्यामध्ये यी उपकरणहरु चाँडै तात्नु पनि एक हो । ब्याट्री चाँडै सकिनु, हयाङ्ग हुनुलगायतका समस्याहरुको समाधान प्राविधिकहरुले धेरै पहिला नै गरिसकेका छन् । तर, मोबाइल डिभाईसहरु तात्ने समस्याको समाधान हुन सकेको थिएन ।

धेरै उपभोक्ताको यसबारे गुनासो रहदै आएको थियो । मोबाइल र ल्यापटप बनाउने कम्पनीदेखि प्राविधिकसम्मका लागि ‘हिटिङ इभेक्ट’ समस्या टाउको दुखाईको विषय थियो । लामो समयसम्मको अनुशन्धानपछि प्राविधिकहरुले उक्त असरलाई कम गर्ने उपकरण बनाएका छन् ।

हालै तिनीहरुले मोबाइल इलेक्ट्रोनिक्सलाई प्रयाप्त चिसो बनाउने नयाँ कुलिङ डिभाईस बनाएका हुन ।  लचिलो र सजिलै मोड्न सकिने उक्त डिभाईस धेरै उपयोगी छ । यो फोलिमर फिल्मबाट बनाइएको छ । यसले कम्प्लेक्स कर्भेचर या मुभिङ सर्फेसका साथ मोबाइल इलेक्ट्रोनिक्सलाई अनुकूलन प्रदान गर्छ । अनुशन्धानकर्ताहरुको एउटा टिमले हालै अमेरिकामा यसको पहिलो सफलतापूर्वक प्रदर्शन गरेका छन् । ‘इलेक्ट्रोक्यालोरिक असर’ सिद्धान्तमा आधारित यो उपकरण एउटा ठोस कुलिङ डिभाइस हो । कुनैपनि विद्युतिय क्षेत्रमा उपकरणहरुले काम गरिरहेको अवस्थामा त्यसको तापक्रममा एकाएक परिवर्तन गराउने सकिने/हुने सिद्धान्त हो, इलेक्ट्रोक्यालोरिक इफेक्ट हो । यही सिद्धान्तलाई त्यसमा उपयोग गरिएको छ ।

‘फिजिक्स ओआरजी’ अनलाईनका अनुसार नयाँ पोलिमर कुलिङ डिभाईसलाई तापको स्रोत र ताप बाहिर निस्कने ठाउँमा तह बनाएर राखिन्छ । जब डिभाईसमा विद्युतधारा प्रवाह हुन्छ, पोलिमर हिट सिंकको सम्पर्कमा पुग्छ । त्यसपछि त्यसका अणुहरु तापका स्रोतहरुसम्म पुग्छ र उपकरणलाई चिसो बनाई राख्न सहयोग गर्छ ।

यो प्रक्रिया दोहरी रहने भएकाले तपाईको मोबाइल र ल्यापटपलाई चिसो बनाई राख्न मद्दत पुग्छ । सामान्य अवस्थामा पनि व्याट्रीका कारण मोबाइल तातेमा यो पोर्टेबल र फ्लेक्जीवल डिभाईसले ५० सेकेण्डमै तापक्रम ३ डिग्री सेल्सियसमा झार्न सक्ने क्षमताको भएको दाबी गरिएको छ । ‘साइन्स जर्नल’ का अनुसार इलेक्ट्रोक्यालोरिक(इसी) पोलिमर फिल्मको प्रतिग्राम विशिष्ट कुलिङ सामथ्र्य २ दशमलव ८ वाट रहेको छ । यसै वर्षको सेप्टेम्बर १५ मा ‘साइन्स’ पत्रिकामा यसबारे अनुशन्धानमुलक रिपोर्ट समेत प्रकाशित भइसकेको छ  ।

अत्यन्तै पातलो यो उपकरणले स्मार्टफोनहरु र ल्यापटप कम्प्युटरलाई अनावश्यक तातो हुनबाट जोगाउने छ । अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटी,हेनरी स्याम्युएली स्कुल अफ इन्जिनियरिङ एन्ड एप्ल्याइड साइन्स र एसआरआई इन्टरनेसनलका इन्जिनियर तथा वैज्ञानिकहरुले यो उपकरण बनाएका हुन । सबै ठाउँमा फिट हुनेगरि यसलाई पातलो र लचिलो बताइएको दाबी उनीहरुको छ । यसलाई वेयरेबल इलेक्ट्रोनिक्स, रोबोटिक सिस्टम तथा नयाँ खाले व्यक्तिगत कुलिङ प्रणालीमा समेत प्रयोग गर्न सकिनेछ ।

धेरै गर्मी हुने ठाउँमा आफूले लगाउने कपडामा समेत यो डिभाईसलाई सजिलै उपयोग गर्न सकिनेछ । यो अविष्कारले गर्मी ठाउँमा बस्नेहरुका लागि खुशीको संचार पक्कै गरेको हुनुपर्छ । किनभने अब तिनीहरुले शरीरलाई शितलता प्रदान गर्न सक्ने ‘एसी’ लगाएरै या ओढेरै पनि एक ठाउँबाट अर्को ठाउँमा जान सक्नेछन् । एसीको आनन्द लिनका लागि अब घरमै बस्नु पर्ने छैन । तर यसप्रकारको कुलिङ डिभाईसलाई वेयरेबल विद्युतिय सामग्रीमा प्रयोग गर्न केही समय चाहीँ कुर्नै पर्ने भएको छ । प्राविधिकहरु हाल मोबाइल , ल्यापटप र टयाबलेटहरुलाई तात्ने समस्याबाट उन्मुक्ति दिलाउनमा केन्द्रित छन् ।

विज्ञान तथा प्रविधिबारे समाचार सम्प्रेषण गर्ने ‘साइटेकडेली’ को अनलाइन संस्करण अनुसार अनुशन्धानकर्मीहरुले बनाएको यो डिभाईसमा ऊर्जा–क्षमता धेरै छ । यो पातलो पोलिमर फिल्म भएकाले तपाईका इलेक्ट्रोनिक उपकरणमा ताप उत्पादन गर्ने स्रोतहरु (ब्याट्री वा प्रोसेसर वा अन्य) लाई चिसो बनाउन सहयोग गर्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक क्वीबिङ पेइले भने, ‘नयाँ अविष्कारबाट हामी असाध्य खुशी भएका छौ । मोबाइल विद्युतिय उपकरणहरुमा तात्ने समस्याबाट यो अविस्कारले मुक्ति दिलाउने निश्चित छ । ’

उनका अनुसार यो अत्यन्तै पातलो भएकाले मोबाइलमा मात्रै नभई अन्य व्यक्तिगत कामका लागि पनि प्रयोग गर्न सकिनेछ । ‘एउटा एक्टिभ कुलिङ प्याडले गर्मी/तातो हुने स्थान/कार्यालयमा कुनै पनि व्यक्तिले शितलताको अनुभव गर्न सक्ने छन्’ उनी भन्छन्,‘ भवनहरुमा प्रयोग गरिएका एयर कन्डिसन(एसी)हरुमा अनावश्यक विद्युतको खपतलाई पनि पछिल्लो उपकरणले कम गर्न सकिनेछ । यो उपकरणलाई जुत्तामा राखेर वा बढी गर्मी हुने स्थानमा ह्याटमा राखेर सजिलै हिड्न पनि सकिन्छ । ’ उनका अनुसार यो उपकरणले एउटा व्यक्तिगत एयर कन्डिसनरको जस्तो काम गर्नेछ । यो डिभाइसको प्रमुख विशेषता भनेको यसलाई मोबाइल वा बोकेर हिड्ने अधिकांश उपकरणहरुमा सजिलै प्रयोग गर्न सकिन्छ ।

अधिकांश स्मार्टफोन र ट्याबलेट प्रयोगकर्ताहरुको एउटै गुनासा सुनिन्छ, ‘उपकरण चाँडै तात्छ, खासगरि भिडियो हेर्नेबेला यो समस्या बढी हुने गर्छ । ’ ती डिभाइसहरुमा आन्तरिक रुपमा मेटल रेडिएटर्सको निर्माण गरिएको हुन्छ, जसले ब्याट्री र कम्प्युटर प्रोसेसर्सबाट ताप शोषण गर्छ । तर उपकरणहरु झनै तात्ने गर्छ । यस्तो अवस्थामा मोबाइल या कम्प्युटर आफै  बन्द हुन सक्छ । यति मात्रै हैन, उपकरण धेरै ताते भएमा  त्यसमा क्षति पनि पुग्न सक्छ । त्यसका अवयवहरु तातेर काम नगर्ने अवस्था पनि आउन सक्छ । यी र यस्तै समस्याहरुबाट मुक्ति पाउनका लागि कुलिङ डिभाईस साँच्चीकै बरदान सावित हुनेछ ।

इलेक्ट्रोनिक्स इन्जिनियरहरुका लागि उपकरणहरु अत्याधिक तातो हुनु ठूलो चुनौतिको रुपमा रहदै आएको थियो । यो चुनौतिलाई सावधान गर्न अनुशन्धाकर्ता र उत्पादक कम्पनीहरु जोडतोडका साथ लागेकै थिए । त्यसैको परिणाम हो, लचिलो विद्युतीय डिभाईसको अविष्कार । यो डिभाइसले उपकरणहरु तात्ने समस्याको समाधान गर्न केही सहयोग पुग्ने निश्चित बनेको छ । यसो त कुलिङ प्रणाली धेरै पहिलेदेखि प्रयोगमा आइरहेकै छन । खासगरि एयर कन्डिसनर्स र रेफ्रिजेरेटर्स जस्ता ठूला उपकरणहरुमा यो प्रणालीको उपयोग हुदै आएको हो । यी उपकरणहरुमा जुन प्रक्रियाको प्रयोग गरिएको हुन्छ , त्यसलाई भ्यापर कम्प्रेसन भनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here